सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दावी

काठमाडौं । नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ । सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद भरतकुमार शाह छन् ।

आइतबार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्वय गोकुलप्रसाद बास्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यास अनुसार पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन् । बास्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्दै समितिका सभापति भरत शाहको राजीनामा समेत माग गरे ।

एमालेका अर्का सांसद गौतमले सांसद बास्कोटाको भनाईप्रति ऐक्यवद्धता जनाउँदै संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने तर्क गरे ।

उनले प्रमुख प्रतिपक्षी दलको भूमिकालाई रचनात्मक बनाउन पनि सत्तापक्षले सार्वजनिक लेखा समितिको सभापति लिई राख्न नपाउने बताए । यता, सभापति शाहले भने विगतमा सार्वजनिक लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको जवाफ दिए ।

सभापति शाहले आफू २०५६ सालदेखि संसदमा रहेको तर समितिका विगतका सभापतिहरुले राजीनामा नदिएको प्रसंग उल्लेख त्यसै गरेर अघि बढ्ने बताए । उनले विपक्षले सो कुरा उठाउनु धर्म भएको भन्दै त्यसले प्रजातन्त्र सुदृढ भएर जाने विश्वास समेत व्यक्त गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: