शनिबार, बैशाख ०८, २०८१

चितवनलाई ईपीएलको उपाधि, पोखरा ४ विकेटले पराजित

काठमाडौँ । चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले पहिलोपटक उपाधि जितेको हो ।

पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले ओभरमा विकेट गुमाउँदै भेट्टायो । उसका लागि भीम सार्कीले ४५ बलमा ६३ रन बनाउँदै अर्धशतकीय पारी खेले । दिलिप नाथ १८ र राजेश पुलामी १४ रन बनाएर पेभेलियन फर्कंदा हसिम अन्सारी, करिम जनतले दोहोरो अंकको रन जोड्न सकेनन् ।

सिक्कुज प्रसन्नले एक रन बनाउँदा कप्तान सोमपाल कामीले चार रन हानेर अविजित रहे । पोखराका किशोर महतोले चार तथा नन्दन यादवले दुई विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनायो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचार्ड लेभीले २६ रन जोड्दा विपिन रावलले १७ रन बनाए ।

कप्तान विनोद भण्डारीले २२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । करिम जनत र सेकुग्गे प्रसन्नले २–२ विकेट लिँदा कप्तान सोमपाल कामी र सागर ढकालको नाममा १–१ विकेट रह्यो ।

चितवन र पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेका हुन् । पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो । तर, दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियसर्टलाई हराएर फेरि चितवनसँगको भेट पक्का गरेको हो । जितसँगै चितवनले ५० लाख रुपैयाँ पाएको छ भने पोखराले १५ लाख चित्त बुझाएको छ ।