शुक्रबार, बैशाख ०७, २०८१

मन्त्रिपरिषद्मा समेट्न नसकेका योग्य साथीलाई उचित जिम्मेवारी दिइनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् ।

स्कूल अफ डेमोक्रेसी, अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ पुस्तकको शनिबार विमोचन गर्दै प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा योग्य साथी छुटेकामा आफूलाई दुःख लागेकोसमेत बताए । क्षमतावान् र योग्य साथीलाई आगामी दिनमा उचित जिम्मेवारी दिँदै जाने बताउँदै उनले आफ्नो बाध्यता बुझिदिन आग्रह गरे ।

सांसद मीन विश्वकर्माले बीपी कोइराला, प्रजातन्त्र र कांग्रेस एक अर्काका परिपूरक भएको उल्लेख गर्दै जनतालाई प्रजातन्त्रको अर्थ, महत्व र अभ्यासका बारेमा बुझाउनुपर्ने आजको आवश्यकता भएको बताए ।

राष्ट्रियसभाअन्तर्गत दिगो विकास समितिका सभापति तारादेवी भट्टले संयुक्त राष्ट्र सङ्घले हाल अघि बढाएको दिगो विकासको लक्ष्य बीपी कोइरालाले आफ्नो समयमा परिकल्पना गरेको सिद्धान्त र विचारसँग मिल्दोजुल्दो भएको बताए ।

कार्यक्रममा पूर्वराजदूत दिनेश भट्टराई, संविधानविद् डा विपिन अधिकारी, स्कूल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष र एवं नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महरलगायतले बीपीका सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै बीपीका बारेमा थप अध्ययन र अनुसन्धानको खाँचो औँल्याए ।