शनिबार, बैशाख ०८, २०८१

सबैभन्दा बढी दुर्घटना टिपर चालकको लापरबाही

काठमाडौं,२२ फागुन । फागुन १३ गते पेप्सीकोला जाँदै गरेको बा ३ ख ९१२० नम्बरको टिपरले बा ६९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की गम्भीर घाइते भए ।

फागुन १२ गते बालाजुबाट लैनचौर जाँदै गरेको बा ३ ख ४५७९ नम्बरको टिपर ट्याक्सीमाथि पल्टिँदा २२ बर्षीय श्यामबहादुर प्रधान गम्भीर घाइते भए । त्रिवि शिक्षण अस्तालमा उपचारको क्रममा उनको मृत्यु भयो ।

फागुन १ गते थानकोटबाट कलंकी आउँदै गरेको बा ७८ प १४६९ नम्बरको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको बा ३ ख ४५४५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो ।

माघ १८ गते बालाजुबाट स्वयम्भू जाँदै गरेको बा ४७ प ८३ १७ नम्बरको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको बा ४ ख १६७० नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भए । उपचारको क्रममा उनको पिपुल्स अस्पताल नयाँबजारमा मृत्यु भयो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबै घटनाको प्रमुख कारण हो, टिपर चालकको ‘लापरबाही’ ।

अधिकांश टिपर तीव्र गतीमा हुइँकाउँदा दुर्घटना भएको महाशाखाले जनाएको छ। यसको सिकार साना सवारी हुने गरेका छन् । ‘दुर्घटना अन्य सवारीमा पनि भइरहेको हुन्छन् ।’ महाशाखाका डिएसपी सबिन प्रधानले भने ‘टिपरको दुर्घटना भने बढी संवेदनशील हुन्छ ।’ टिपरले दुर्घटना गराएपछि कि त ज्यानै जान्छ, कि त गम्भीर घाइते हुने प्रधानले बताए।

कानुनमा सजायदेखि सर्वस्वसहित जन्मकैदको व्यवस्था भए पनि अधिकांश चालकलाई निश्चित जरिवाना गराएर ३५ दिन जेलमा राखी मुक्त गरिन्छ । @ नागरिक दैनिक