‘सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वसनीयतामै ह्रास’

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताले नै मन्त्रिपरिषदलाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् ।

उपसभापति निधिको नयाँबानेश्वरस्थित निवासमा सोमबार भएको तीन नेताको छलफलमा सत्तारुढ गठबन्धन दलका नेताहरुलाई पनि विभिन्न कारण देखाएर मन्त्रिपरिषदलाई पूर्णता दिने काममा ढिलाई नगर्न आग्रह गर्ने निर्णय भएको छ ।

सरकार र गठबन्धन दलको विश्वसनीयतामाथि नै प्रश्न उठिसकेकाले छिटोभन्दा छिटो मन्त्रिपरिषदलाई पूर्णता दिन सरकारलाई आग्रह गरिएको उपसभापति निधिले जानकारी दिए । उनले ८३ दिनसम्म सरकारले पूर्णता नपाउनु चिन्ताको विषय भएको बताए । नेताहरुबीच १४ औं महाधिवेशनमा पार्टी पदाधिकारीहरुमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल भएको छ ।

त्यसैगरी बैठकले क्रियाशील सदस्यतासम्बन्धि बाँकी ४ जिल्लाको विवाद छिटो टुंगो लगाएर पार्टीको वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन समयमै सक्न पनि पार्टी सभापति देउवासँग माग गरेको छ । नेपाली कांग्रेसको बारा, रौतहट, सप्तरी र रसुवा जिल्लामा अझै पार्टीको क्रियाशील सदस्यतासम्बन्धि विवाद टुंगो लागेको छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: