गुणस्तरीय स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच अपरिहार्यः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छन् । बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएको चिनियाँ डाक्टरको टोलीलाई बिदाइ गर्न सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालजस्तो विकासशील देशमा स्रोतसाधन तथा सक्षम जनशक्ति तयार गरी क्यान्सर बिरामीका लागि समर्पित गराउनु अझै चुनौतीको विषय भएको बताइन् ।

उनले क्यान्सर रोग मानव जीवनका लागि विश्वव्यापी चुनौतीका रूपमा देखा परेको बताइन् । वातावरण प्रदूषण, विषादीयुक्त खाद्य, सुर्ती तथा मादकपदार्थ सेवन तथा अस्वस्थ जीवनशैली नै क्यान्सर रोगको कारक रहेको भन्दै उनले यस अस्पताललाई राष्ट्रिय क्यान्सर प्रतिष्ठानका रूपमा विकास गर्ने अस्पतालको योजनाप्रति खुसी व्यक्त गरिन् ।

बिरामीको सेवामा सदैव खटिने अस्पताल परिवार र चिनियाँ टोलीप्रति आभार व्यक्त गर्दै मित्रराष्ट्र चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको अस्पतालले क्यान्सरको उपचारमा विशिष्टीकृत सेवा प्रदान गरेकामा उनले सराहना गरिन् ।

२२ वर्षअघि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सो अस्पताल निर्माण भएको थियो । यस अस्पतालमा प्रत्येक वर्ष चीनबाट विशेषज्ञ चिकित्सको टोली आउने गरेको छ । अघिल्लो वर्ष आएका १५ विशेषज्ञ चिकित्सकको टोली आफ्नो कार्यकाल पूरा गरी फर्कन लागेको अस्पतालका निर्देशक डा देजकुमार गौतमले जानकारी दिए ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछानेले विशेषज्ञ चिनियाँ मेडिकल टिम अस्पतालमा नै उपस्थित भई नेपाली चिकित्सक र नर्सिङ स्टाफलाई प्रशिक्षित गराउनुका साथै कोभिड–१९ जस्तो महामारीका समयमा नेपालमा रही अस्पतालको सञ्चालन तथा विकासमा सहयोग गरेकामा चीन सरकार र चिकित्सक टोलीलाई धन्यवाद दिए ।

कार्यक्रममा चिनियाँ चिकित्सकले नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र आफूहरुले काम गर्दाको अनुभव व्यक्त गरेका थिऐ । १५ सदस्यीय टोली चीनको हुवावे प्रान्तबाट आएको हो । टोलीलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र प्रदान गरेकी थिइन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: