शनिबार, बैशाख ०८, २०८१

आजै मन्त्रिपरिषद विस्तारको तयारी छः प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको बताएका छन् । सोमबार नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गरी शपथ गराउने र नभएपनि आज टुंग्याउने कोशिश भइरहेको बताएका हुन् ।

सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । उनले आगामी निर्वाचनमा माओवादी एक नम्बर पार्टीमा स्थापित हुने दावी गरे ।

उनले माओवादी तर्फ जनलहर बढेको देखेर पार्टीमा फर्किनेहरु बढेका बताए । उनले भने, ‘जनसंगठनमा पनि सलबलाहट सुरु भएको छ । ठूला ठूला मान्छे पार्टीमा फर्किँदैछन् । केपी ओलीसँग छुटेर के भो त अरु पार्टीसँग हुँदैछ । आजपनि एउटा पार्टीसँग वार्ता गरेर आएको हुँ म ।’

उनले आफूले माओवादी विघटन गरेपनि हुन्छ भन्ने कुरा पार्टीलाई थप बलियो बनाउने अर्थमा भनेको बताए । उनले भने, ‘बाहिर अहिले एकथरी लौ प्रचण्ड सकियो, रुँदै हिँड्यो भनेका छन्, त्यो गलत हो ।म आवेगमा पनि छैन । म आत्तिएको पनि होइन । । विघटन गर्नलाई पार्टी बिग्रियो भनेको होइन । एक्लो भएँ भनेको गुट बनाउनु हुँदैन भनेको हो । गुटैगुट भए भने त मुख्य नेता एक्लै भइहाल्छ नि । अध्यक्षले त पार्टी एक बनाउने पो  भनेको हो भनेर यो कुरा तपाइँहरुले व्याख्या गर्नुपर्यो ।’

उनले नेकपा एमाले विचारहीन भएको आरोप लगाए । उनले भने, ‘एमालेमा विचार सिद्धान्त हुँदैन । त्यही सूर्य चिन्ह एउटा  छ त्यति हो । मदन भण्डारीको ठाउँमा ओलीलाई बनाउन खोजिएको छ । मिलेन भन्थे दोस्रो तहकाहरु दश भाइ । यिनीहरुप्रति आशा थियो । उनीहरुको विचार सिद्धान्त त्यही लोगोमा गएर सकियो । हामी त्यस्तो हुनु भएन ।’