एमाले सामु आफ्नो कुनै भविष्य नदेखेर विपक्षीहरु अतालिएः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले विधान महाधिवेशनमा धेरै तामझाम गरेको देखेर विरोधीले छाती पिटिरहेको बताएका छन् । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले एमालेको तामझाम देखेर विरोधीहरुले छाती पिटिरहेका बताएका हुन् ।

उनले भने,‘हाम्रो विचार र संगठनमाथि हमला भएको छ। नेकपा एमालेको महाधिवेशनमा झण्डा, ब्यानर देखियो रे। धेरै तामझाम देखियो रे भनेर विरोधीले छाती पिटिरहेका छन्।’

उनले नेकपा एमाले सरकारमा आएपछि देश र जनताको पक्षमा विकासको लहर आएको दाबी गरे । उनले एमाले सामु विपक्षीहरूले आफ्नो कुनै भविष्य नदेखेर अतालिएकाले विरोध गरेको आरोपसमेत लगाए ।

अध्यक्ष ओलीले आफू व्यक्तिप्रेमी नभएकाले सामूहिकतामा निर्णयमा चल्ने बताए। ओलीले आफू नेतृत्वको सरकार ढाल्न भूमिका खेल्ने जति सबै विरोधी भएको बताए । उनले विरोधी को हुन् भन्नेबारे शास्त्र पढ्न आवश्यक नभएको र एमालेसँग लडराखेका जति विरोधी भएकोबारे स्पष्ट हुन कार्यकर्ताहरूलाई आग्रह गरे ।

उनले भने,‘आफ्नो पार्टीको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सकार बनाउनु अग्रगमन र क्रान्तिकारिता हो भनेर गए, एमालेको सरकार ढालेर क्रान्ति गर्यौं भन्नेहरु सवै एमालेका विरोधी हुन्।’

ओलीले माधव नेपालहरुलाई बिग्रिएको मान्छेहरुको संज्ञा दिँदै एमालेबाट बिग्रिएका मान्छेहरू बाहिरिएको बताए । कतिपय स्थानीय तहमा रहेका नेता र कार्यकर्तालाई भ्रम र अलमलमा पारेर अर्कै पार्टीले लगेको हुन सक्ने भन्दै तिनलाई फिर्ता ल्याउन भूमिका खेल्न ओलीले निर्देशन दिए ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: