बिहिबार, चैत १५, २०८०

गर्भपतन अधिकार माग गर्दै अमेरिकामा हजारौँको प्रदर्शन

गर्भपतन अधिकारको समर्थनमा अमेरिकाका ५० वटै राज्यमा दशौँ हजारले प्रदर्शन गरेका छन् । टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनको सेवासम्म पहुँचमा कडाइ गरेको विरोधमा अमेरिकामा महिलाहरू प्रदर्शनमा जुटेका हुन् ।

गर्भपतन स्वैच्छिक अधिकार हुनुपर्ने पक्षधरहरूले आफूहरूको संवैधानिक अधिकार खोसिने चिन्ता व्यक्त गरेका छन् । अमेरिकाको सर्वोच्च अदालतले आगामी महिनाहरूमा गर्ने सुनुवाइले ‘रो भि वेड’ भनिने गर्भपतनलाई कानुनी मान्यता दिने सन् १९७३ को आदेश उल्टाउन सक्ने चिन्ता गरिएको छ ।

‘गर्भपतनलाई कानुनी मान्यता’ भन्नेजस्ता नारा र सङ्केतहरू सहित प्रदर्शनकारीहरूले राजधानी वासिङ्टन डीसीमा रहेको सर्वोच्च अदालत अगाडी मार्च पास गरेका थिए । करिब दुई दर्जनको सङ्ख्यामा रहेका प्रदर्शन विरोधीहरूले र्यालीको सुरुमै अवरोध पुर्याउने प्रयास गरेका थिए । त्यो अवरोध प्रदर्शनकारीहरूको गीत र तालीमा ओझेल परेको वासिङ्टन पोस्ट पत्रिकाले उल्लेख गरेको छ ।

प्रदर्शनमा सहभागी एक महिलाले नारीको छनौट गर्न पाउने अधिकारका लागि आफू सहभागी भएको बताइन् । र्यालीहरू यसअघि वार्षिक रूपमा वीमन मार्च आयोजना गर्ने समूहहरूले नै गरिरहेको बताइएको छ ।

न्यूयोर्क राज्यकी गभर्नर काथे होकुलले दुई फरक–फरक र्यालीलाई सम्बोधन गरेकी थिइन् । गत सेप्टेम्बर १ मा टेक्ससका विधायकहरूले गर्भपतन विरुद्धका अभियानकर्मीले भन्दै आएको भ्रुणको मुटुको धड्कन सुरु हुन थालेपछि गर्भपतन गर्न नपाइने कानुन बनाएका थिए ।

तर महिलाहरूले त्यो समयसम्म महिलाहरूलाई आफू गर्भवती भए वा नभएको थाहा नै नहुने बताउँदै आएका छन् । हार्टविट एक्ट भनिएको नयाँ कानुनले छ हप्ता पछिको गर्भपतनमा संलग्न चिकित्सकमाथि मुद्दा चलाउन सक्ने अधिकार जोसुकै व्यक्तिलाई दिएको छ।