बुद्ध फाउण्डेसन युकेद्वारा लुम्बिनीमा थप पर्यटन प्रवद्र्धन गर्न आग्रह

लण्डन। परोपकारी संस्था बुद्ध फाउण्डेशन बेलायतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवद्र्धन र संरक्षण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ ।

लण्डनस्थित नेपाली दूतावासमार्फत हालै सरकारलाई एक ज्ञापनपत्र बुझाउँदै फाउण्डेशनले बुद्धजन्मस्थलका बारेमा अन्तर्राष्ट्रियस्तरमा थप प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो । यहाँस्थित राजदूत लोकदर्शन रेग्मीलाई फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठसहित कार्यसमितिका पदाधिकारीले ज्ञापनपत्र बुझाउनुभएको थियो ।

फाउन्डेसनले नेपालको पासपोर्टमा गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीका तस्विरहरु समावेश गर्न तथा तीनै तस्विरअंकित नोटहरु एवम् हुलाक टिकटहरु निश्कासन गर्न पनि नेपाल सरकारसमक्ष आग्रह गरेको छ ।

साथै, लुम्बिनी क्षेत्रको आवश्यक संरक्षण एवम् प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट समेत साथ, समर्थन जुटाउनेतर्फ पनि सरकारी स्तरबाट आवश्यक पहल अगाडि बढाउनुहुन पनि अनुरोध गरेको छ ।

फाउन्डेसनले नेपालको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको पवित्र तिर्थस्थल एवम् विश्वभरका पर्यटकहरुमाझ आकर्षक पर्यटकीय गन्तव्यका रुपमा लोकप्रिय लुम्बिनीको प्रचारप्रसार गर्ने मूल उद्धेश्यसहित बेलायतवासी नेपालीहरुले सन् २०१७ मै बुद्ध फाउन्डेसन यूके स्थापना गरी संगठित रुपमै अभियानहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: