बिहिबार, बैशाख ०६, २०८१

इथोपियामा बढ्दो मानवीय संकटबारे राष्ट्रसंघ चिन्तित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथोपियामा गहिरिदो मानवीय संकट र भोकमरी बारे गम्भीर चिन्ता व्यक्त गरेका छन् शुक्रबार इथोपियाले संयुक्त राष्ट्रसंघका सात जना अधिकारीहरूलाई निष्काशन गर्दै द्वन्द्वग्रस्त टिग्रेइ क्षेत्रमा मानयीय सहयोग पुर्याउँन प्रतिबन्ध लगाएपछि महासचिव गुटेरेसले इथोपियालाई यस्तो निर्णय लिने अधिकार नभएको बताएका हुन् ।

गुटेरेसले समयमै यहाँको मानवीय संकट समाधान नभए स्थिति नियन्त्रण बाहिर जानसक्ने टिप्पणी गरेका छन् । सरकारले टिग्रेइ क्षेत्रमा खाद्यान्न, इन्धन र अन्य अत्यावश्यकीय वस्तुको आपूर्तिमा करिब–करिब बन्देज लगाए सँगै यस क्षेत्रमा मानव अधिकार र आधारभूत मानवीय आवश्यकता परिपूर्तिमा समेत गम्भीर असर परिरहेको छ र बालबालिकाहरू भोकमरीको शिकार हुनसक्ने स्थिति नजिकिंदै छ।

महासचिव गुटेरेसका अनुसार यस क्षेत्रका ५२ लाख जनता मानवीय सहायताको तीव्र पर्खाइमा छन् र ४ लाख जनता प्रायः भोकमरीको अवस्थामा तड्पिएका छन्। अहिले यहाँका बालबालिकाहरूको कुपोषणको अवस्था २०११ मा सोमालियाका बालबालिका जस्तै देखिएको छ।

शुक्रबार इथोपियाले देशको आन्तरिक मामिलामा दखल पुर्याएको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघका ७ जना अधिकारीहरूलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिएको छ। इथोपियाको परराष्ट्र मन्त्रालयले ती अधिकारीहरूले कूटनीतिक मर्यादा विपरीत कार्य गरेको र निष्पक्षता कायम राख्न नसकेको र द्वन्द्वरत पक्षलाई सहयोग गरेको समेत आरोप लगाएको छ।

महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई इथोपियाको पछिल्लो निर्णयले इथोपियामा जारी द्वन्द्व र मानवीय संकट समाधान गर्न थप पेचिलो हुनसक्ने टिप्पणी गर्दै यस विषयमा जानकारी गराएका छन् ।

मानव अधिकारको रक्षा र बढ्दो मानवीय सङ्कटको समाधानका निम्ति सबै पक्षको सहभागितामा दिगो शान्ति स्थापना नै जारी समस्याको समाधान भएको तर सरकारको पछिल्लो निर्णयले यसमा आघात पुगेको महासचिव गुटेरेसको टिप्पणी छ।

टिग्रेइमा जारी मानवीय संकट र संयुक्त राष्ट्रसंघका ७ जना सदस्यलाई निष्काशन गर्ने निर्णयका सन्दर्भम सुरक्षा परिषद्को आकस्मिक बैठक बसेर गम्भीर छलफल गरेपनि कुनै निर्णय भने लिइएको छैन ।