बुधबार, बैशाख १२, २०८१

कोरोना संक्रमणबाट ९ जनाको मृत्यु, ११२३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये काठमाडौं जिल्लामा १६४, ललितपुरमा ६५ र भक्तपुरमा २६ जना गरी उपत्यकामा २५५ जना रहेका छन् । त्यस्तै झापामा ५०, मोरङमा ४६, सुनसरीमा ३०, चितवनमा १९, कास्कीमा ३८, रुपन्देहीमा ३७, सुर्खेतमा ३३ र कैलालीमा २३ संक्रमित भेटिएका छन् ।

त्यस्तै शनिबार १ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६७८१९ पुगेको छ । शनिबार, कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ । क्वारेन्टाइनमा २३९ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ६४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।