मङ्गलबार, बैशाख ०४, २०८१

एमालेलाई प्रतिवाद नगरी आउँदो चुनाव जितिदैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले एमालेसँग प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने बताएका हुन् । एमाले गणतन्त्र र संघीयता विरोधी रहेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले जनतामाझ जान पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

आफ्ना पार्टीका लडाकू कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिए ।

उनले भने, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्ष भित्र हामी सरकारमा जान्छौ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिदैन । यी जाली फटाहाहरुले अहिले हामीलाई हेप्न खोजेका छन् नि । तिनको सातो खाने । पहिलो आयो है माओवादी भनेपछि जाली फटाहा थरर्र हुन्थे । छाती खोलेर भन्नु होलीले ल्याएको हो गणतन्त्र । हामीले बनाएको हो संविधान । यिनीहरु विरोधि हुन भन्दै हिँडनुहोस् ।’

अध्यक्ष प्रचण्डले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढ्नुपर्ने बताए । उनले केपी ओली एक्लै केही नभएको पनि बताए ।

उनले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेडक्वार्टरमै बमबारी गर्नु परेको दोहोर्याए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताए । उनले भने, ‘आज म खुसी छु । अब म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे । राष्ट्रको हित गर्ने सबै मान्छेहरुसँग सहकार्य भएको छ ।’