पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि प्रचण्डले पार्टी विभाजन गरेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजन गर्ने काम गरेको आरोप लगाएका छन् ।

शुक्रबारदेखि ललितपुरमा सुरु भएको पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डको सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको बताएका हुन् ।

उनले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताए । उनले भने, ‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको छ । यसो हुनुमा नवौं महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दीमा संलग्न माधन नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ ।’

अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरुले स्वागत योग्य काम गरेको टिप्पणी गरे । उनले भने,‘पार्टी एकता जोगाउनका लागि प्रदर्शित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरी छाड्ने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टी भित्रको अन्तरसंघर्षमा साथमा रहनु भएका अधिकांश कमरेडहरु त्यसलाई अस्वीकार गरेर एकताको पक्षमा उभिनु भएको छ । यो स्वागतयोग्य निर्णय हो ।’

अध्यक्ष ओलीले पार्टीको एकतालाई जोगाउनका लागि माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरुले सकारात्मक योगदान पुर्याएको पनि बताए । उनले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालहरुलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिका समेत सहयोगी भएको आरोप लगाए । उनले त्यस्ता खालका गतिविधिको आफनो पार्टीले कानुन सम्मत ढंगले प्रतिवाद गर्ने चेतावनी समेत दिए । उनले भने, ‘नेकपा एमालेलाई विभाजन गराउन र उनीहरुलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको समेत सहयोगी भूमिका रहेको छ, जसलाई हामीले कानुनसम्मत प्रतिवाद गर्नेछौं ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: