बिहिबार, बैशाख १३, २०८१

एमालेको विधान महाधिवेशन शुरू, ५ उपाध्यक्ष, १ महासचिव र ६ सचिव रहने प्रस्ताव

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा उपमहासचिव पद खारेज गरी ५ उपाध्यक्ष रहने प्रस्ताव लगेको छ । विधान महाधिवेशनमा पेस भएको मस्यौदामा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, ६ जना सचिव र २१२ जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ ।

यसअघि तीन उपाध्यक्ष र २ उपमहासचिवको व्यवस्था गरिएको थियो । त्यस्तै एमालेले केन्द्रीय कमिटीमा कम्तीमा एक तिहाई महिलासहित समावेशी केन्द्रीय कमिटी गठन गर्ने प्रस्तावसमेत लगेको छ ।

एमालेले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाएको छ । यसअघि निवर्तमान अध्यक्ष वरिष्ठ नेता रहने वैधानिक व्यवस्था रहेको थियो । त्यस्तै केन्द्रीय अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १२ सदस्य हुने व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटीको बैठकमा उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा ३ जना उपाध्यक्ष र ७ सचिवको प्रस्ताव राखेका थिए । तर पछि समूहगत छलफलमा सचिव र उपाध्यक्षको संख्या समान गर्ने प्रस्ताव आएको थियो ।