बुधबार, बैशाख १२, २०८१

मुख्यमन्त्री राउतले विश्वासको मत लिन असोज २० गते अधिवेशन आह्वानका लागि सिफारिस

जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री राउतले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक डाकिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गते प्रदेशसभा बैठक आव्हानका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष सिफारिस गरेको छ । सोही दिन मुख्यमन्त्रीले विश्वासको मत लिने मुख्यमन्त्रीको संचार सचिवालयले जनाएको छ ।

जनता समाजवादी पार्टी विभाजन भएका कारण मुख्यमन्त्री राउतले विश्वासको मल लिन लागेका हुन् । अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार छ ।

एक मात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीको समर्थन पनि सरकारलाई छ । सरकारमा जाने तयारीमा रहेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि राउतलाई विश्वासको मत दिने तयारी गरिरहेको छ ।

प्रदेश २ मा १०४ सांसद छन् । अहिले सभामुखसहित जसपाका ३९, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका १३ र नेपाल संघीय समाजवादी पार्टीका १ गरी कुल ८० सांसदको सरकारलाई समर्थन प्राप्त छ ।