विश्व पर्यटन दिवस मनाइँदै, पर्यटन क्षेत्रमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेकाे प्रधानमन्त्री देउवाकाे भनाइ

काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ ।

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । दिवस भव्यरूपमा मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा ४२औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवरद्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ ।

गत वर्ष भर्चुअलरूपमा पर्यटन मन्त्रालयमा न्यून सङ्ख्यामाझ दिवस मनाइएको थियो । कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष भौतिकरूपमै कार्यक्रम गर्न लागिएको हो । दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण सङ्घलगायतका संस्थाले औपचारिक कार्यक्रमको आयोजना गरेका छन् ।

सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराएसँगै पर्यटन क्षेत्रमा उत्साह छाएको छ । पर्यटन क्षेत्रका अगुवा सङ्गठनले सरकारी निर्णयको स्वागत गर्दै सबै सेवा पुनः सञ्चालन गर्ने जनाएका छन् । सीमा नाका खोल्ने र क्वारेन्टिनको व्यवस्था पनि हटाउने व्यवस्था मिलाएको छ । यसले महामारीबाट थलिएको पर्यटन क्षेत्र चलायमान हुने वातावरण बनेको छ ।

कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन् । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ का आठ महिनामा ६६ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ मात्र छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए ।

विश्व पर्यटन दिवसको अवसरमा होटल सङ्घ नेपाल (हान) ले आज विज्ञप्ति निकालेर विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने सरकारी निर्णयबाट होटल व्यवसायी उत्साहित भएको जनाएको छ । सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने र क्वारेन्टिन बस्नु नपर्ने व्यवस्था गरिएको छ । यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको व्यवसायीले महसुस गरेका छन् ।

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन् ।

विश्व पर्यटन दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रबर्द्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको उल्लेख गरेका छन् ।

सन्देशमा प्रधानमन्त्री देउवाले नेपालको पर्यटन क्षेत्रको विकास र प्रबर्द्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको भन्दै यस क्षेत्रको पूर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रियस्तरमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चमार्फत् पर्यटन प्रबर्द्धन सहकार्यका प्रयास पनि हुँदै आएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

पर्यटन क्षेत्र कोभिड–१९को सङ्कटबाट ग्रस्त रहेको, व्यवसायहरु जोखिममा रहेको र कर्मचारी तथा कामदारको आम्दानी गुमेको सन्दर्भमा सरकारले यस क्षेत्रलाई पुनरुत्थान गर्न शुल्क तथा कर छुट, कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिनेलगायतका नीतिगत व्यवस्था गरेको पनि प्रधानमन्त्री देउवाले सो सन्देशमा बताएका छन् । आगामी दिनमा पर्यटन क्षेत्रलाई जोखिम बहन गर्न सक्ने क्षेत्रका रुपमा विकास गर्न व्यवसाय बीमा, कामदार र कर्मचारीको सामाजिक सुरक्षा र पर्यटन जोखिम कोष व्यवस्थापनलाई प्रभावकारी रुपमा अघि बढाइएको उनको भनाइ छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: