मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिइने

काठमाडौं । सत्तारूढ गठबन्धनका दलहरुबीच सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकमा जतिसक्दो चाँडो सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलसँग मन्त्री बन्नेहरूको नाम मागेका छन् । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलकाअनुसार सरकार विस्तारमा ढिलाइ भएको भन्दै प्रधानमन्त्रीले मन्त्री बन्नेहरूको नाम मागेको जानकारी दिइन् ।

बैठकले अध्यादेश, मन्त्रिपरिषदको पूर्णता, मन्त्रालयको भागबण्डा लगायतका विषयमा निर्णय गर्ने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ । जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले अबको एक दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताए ।

असार २९ मा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले तीन महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । गठबन्धन दलका आन्तरिक समस्याका कारण सरकारले पूर्णता पाउन सकेको छैन ।

नेकपा एमालेले माधव नेपाल लगायतका १४ नेताहरुविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनका कारण पनि सरकार विस्तारमा ढिलाई भएको थियो । तर त्यो रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी नगरेपछि अब सरकार विस्तारका लागि केही सहज भएको छ । जनता समाजवादी पार्टीले भने राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद विस्तार गर्नुपर्ने बताउँदै आएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: