ओलीको दम्भ अब धेरै टिक्दैनः अध्यक्ष नेपाल

हेटौंडा । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ अब धेरै नटिक्ने बताएका छन् । शनिबार हेटौंडामा पार्टीका मकवानपुर जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपक्षेलाई लत्याएका कारण ओलीको दम्भ नटिक्ने बताएका हुन् ।

उनले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त र मान्यतालाई आत्मसात गरेको भन्दै विरोधीहरुले नेकपा एकीकृत समाजवादीले जबजलाई त्यागेको भन्ने हल्ला निरर्थक भएको बताए । उनले जबजको मूल्यमान्यता विपरीत चल्ने ओलीले छरेको भ्रममा नपर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले विधि विधान नमान्ने र संविधान मिच्ने ओली नेतृत्वको पार्टीलाई आगामी निर्वाचनमा टर्च बालेर खोज्नु पर्ने अवस्था आउने बताए । उनले आफ्नो पार्टीले देशको वैकल्पिक शक्तिका रुपमा अभियान सुरु गरेको र अन्य दलहरुको समेत साथ पाएर देशकै ठुलो शक्तिका रुपमा काम गर्ने उनले दावी गरे ।

अध्यक्ष नेपालले ओलीको विधि विधान विपरीत एकल निर्णय गरेर पार्टी र सरकार हत्याउने षड्यन्त्रमा लागेकाले लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना भएको बताए ।

उनले एकीकृत समाजवादी पार्टीले आगामी दिनमा कम्युनिष्ट आन्दोलनको नेतृत्व, देश र जनताको हितका लागि काम गर्ने दावी गरे । देश र जनताको हितका लागि तल्लो तहदेखि छलफल र सहकार्य गर्दै नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो अभियानलाई जारी राख्ने र जनताको दुःखमा सहयात्री बन्ने उनको भनाइ छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: