बिहिबार, बैशाख ०६, २०८१

क्यानडाबाट रिहा भएलगत्तै ह्वावेइकी उच्च अधिकारी चीन फिर्ता

क्यानडामा पक्राउ परेकी चिनियाँ अग्रणी टेलिकम कम्पनी ह्वावेइकी उच्च अधिकारी अमेरिकासँगको एक सम्झौता लगत्तै चीन फर्किएकी छन् । ह्वावेइकी आर्थिक मामिला प्रमुख मङ्ग वान्जू सन् २०१८को डिसेम्बरमा अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ परेकी थिइन्। ठगीको आरोपमा पक्राउ परेकी ह्वावेइका संस्थापककी छोरी वान्जूलाई क्यानडामै नजरबन्दमा राखिएको थियो ।

वान्जू पक्राउ सँगै चीनको अमेरिका र क्यानडासँगको सम्बन्धमा तनाव उत्पन्न भएको थियो । सम्झौतापछि शुक्रबार अमेरिकाको विदेश मन्त्रालयले उनको सुपुर्दगीका लागि क्यानडालाई गरिएको अनुरोध फिर्ता लिए लगत्तै उनी रिहा भइन् ।

वान्जूको पक्राउको बदलामा चीनले क्यानडेली नागरिकहरूलाई पक्राउ गरेको थियो । चीनले त्यसलाई अस्वीकार गर्दै आए पनि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनमा थुनामा रहेका दुई क्यानडेली नागरिक स्वदेश फर्कँदै गरेको बताएका छन्। वान्जू पक्राउ परे लगत्तै उनीहरूलाई जासुसीको आरोपमा चीनले पक्राउ गरेको थियो ।

क्यानडामा थुनामुक्त भएपछि उनले भनिन्, ‘यो समय मेरो जीवनमा निकै विध्वंसात्मक रह्यो यसले मेरो जीवनमा निकै उथल पुथल ल्याएको छ।’ एएफपी समाचार संस्थाका अनुसार लगत्तै वान्जू एयर चाइनाको विमान मार्फत सेन्जेन सहर फर्किएकी थिइन् । वान्जूलाई छुटाउन अमेरिका र चीनबीच भएको सम्झौताको विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन्।

दुई देशका कूटनीतिज्ञबीचको समझदारीबाट त्यसको टुङ्गो लगाइने बताइएको छ । विश्वको दोस्रो ठुलो स्मार्टफोन निर्माता कम्पनी ह्वावेइमाथि ब्याङ्कमा ठगी गरेको, न्यायमा वाधा उत्पन्न गरेको र अमेरिकी कम्पनी टी मोबाइलबाट प्रविधि चोरेको आरोप छ ।

अमेरिकाले वान्जूले इरानको स्काइकम कम्पनीसँग ह्वावेइको सम्बन्धबारे झुटो विवरण पेस गरेर विश्वकै ठुलो मध्येको एचएसबीसी बैङ्कलाई अमेरिकी प्रतिबन्ध उल्लङ्घनको जोखिममा पारेको आरोप लगाएको छ ।

अमेरिकाको न्यायालयले वान्जूमाथि लगाइएको अभियोजन तत्काललाई अघि नबढाउने सहमति भएको बताएपछि उनी रिहा भएकी थिइन्। अब उनीमाथि लागेको मुद्दा कम्तीमा सन् २०२२ को डिसेम्बरसम्म अघि बढाइने छैन । अदालतले राखेका सर्तहरूमा उनी सहमत भएको अवस्थामा मुद्दा फिर्ता पनि हुनसक्छ।

उनलाई रिहा गर्न दुई पक्षबीच भएको सहमतिमा उनले आफूले गल्ती गरेको अस्वीकार गरे पनि अमेरिकाले लगाएका आरोपहरू स्वीकार गर्नुपर्ने उल्लेख गरिएको बताइएको छ।

क्यानडेली अभियोजनकर्ताहरूले भ्यान्कुभरको अदालतलाई उनलाई अमेरिकामा सुपुर्दगी गर्ने निर्णय फिर्ता लिइएको जानकारी गराउँदै उनको रिहाइको आदेश माग गरेका थिए। लगत्तै न्यायाधीशले उनलाई रिहा गर्न आदेश दिएका थिए।