शुक्रबार, चैत १६, २०८०

अफगानिस्तानमा कठोर सजायहरू फेरि शुरू हुने तालिबानको चेतावनी

तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजायहरू अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएका छन् ।

हाल कारागार प्रमुख रहेका मुल्लाह नुरूद्दीन तुराबीले अङ्ग काट्नेसम्बन्धी सजाय सुरक्षाका लागि आवश्यक भएको समाचारसंस्था एपीलाई बताएका हुन् । तर त्यस्ता सजायहरूको कार्यान्वयन विगतमा जस्तो सार्वजनिक स्थलहरूमा नगरिने उनले बताए । सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेका थिए ।

यद्यपि विगतमा सार्वजनिक स्थलहरूमा दिने गरिएका मृत्युदण्डको आलोचना भएको कुरा तुराबीले खारेज गरे । गत अगस्ट १५ मा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेयता तालिबानले विगतको भन्दा नरम शासन गरिने बताउँदै आएका छन् ।

तर देशभरि मानव अधिकार उल्लङ्घन भएका भनिएका थुप्रै घटनाहरू बाहिर आएका छन् । हेरातमा प्रतिष्ठित महिलाहरू, घरबाहिर हिँडडुल गर्न पाउने स्वतन्त्रता पक्षधर र पोशाकसम्बन्धी नियम पालना गर्न अस्वीकार गर्ने महिलाहरूको खोजी गर्दै तालिबान लडाकुहरू हिँडेको पाइएको अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको थियो ।

काबुलमाथि तालिबानले नियन्त्रण कायम गर्नुभन्दा केही दिनअगाडि बाल्खमा तालिबानका एक न्यायाधीश हाजी बदरुद्दीनले इस्लामिक कानूनको कठोर व्याख्यालाई आफूले समर्थन गर्ने बताएका थिए ।

विगतका कामका कारण संयुक्त राष्ट्रसङ्घले आर्थिक प्रतिबन्ध लगाएका व्यक्तिहरूको सूचीमा रहेका तुराबीले सार्वजनिक स्थलमा सजायहरू दिने वा नदिने विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको र त्यसबारे नीति बनाइने बताए ।

सन् १९९० को दशकमा काबुलका खेलकुद रङ्गशालाहरूमा अथवा इदगाहमा मृत्युदण्डका सजाय दिने गरिन्थ्यो । त्यस बेला तुराबी न्यायमन्त्रीका साथै सदाचार विस्तार तथा दुराचार नियन्त्रण मामिला प्रमुख थिए।