शुक्रबार, चैत १६, २०८०

‘७५ दिनसम्म मन्त्रिमण्डल बनाउन नसक्नेले एमालेसँग लड्ने गफ दिने ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसीर भित्र पनि वर्तमान सरकारले पूर्णता पाउन नसक्ने बताएका छन् । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले बिहीबार काठमाडौंमा आयोजना गरेको बृहत भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शपथ लिएको ७५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउनु यसैको संकेत भएको बताएका हुन् ।

उनले १४ महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाए धन्यवाद दिनुपर्ने भन्दै व्यंग्य गरेका थिए । उनले ७५ दिनसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्नेहरुले एमालेसँग चुनाव लड्ने सपना नदेख्न आग्रह गरे ।

उनले भने,‘मजबुद एमालेसँग लड्न यत्तिकै लिरिखिरी पाराले मन्त्रिमण्डल बनाउन नसक्ने एमालेसँग लड्ने गफ दिने ?’ उनले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरे ।

उनले भने, ‘कस्तो सरकार आयो आयो– सिस्नु जस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा तातोपानी लगाएर ठिक पार्नुपर्छ ।’ अध्यक्ष ओलीले राजनीतिक सटर बन्द हुने भएपछि आफू नेतृत्वको सरकारलाई हटाउने काम गरिएको बताए ।

पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै अध्यक्ष ओलीले राष्ट्रिय एकतामा फाटो ल्याउने गरिरहेको आरोप लगाए । ।

उनले भने, ‘माके पार्टी, माने पार्टी हेर्नुस् न । यी पार्टीले राष्ट्रिय एकताको नभई फाटोको खेती गर्छन् । राष्ट्रियताको मतलव छैन । सम्प्रभुता, राष्ट्रिय एकताको मतलव छैन ।’ उनले सत्ताको दूरुपयोग गरेर आफ्नो पार्टी निकट कर्मचारी संगठन, विद्यार्थी संगठन, युवा संगठनहरुको कार्यालय कब्जा गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाए ।

अध्यक्ष ओलीले मदन भण्डारीको छोरी उषाकिरण भण्डारीलाई मेडल दिएको भनेर सत्ता पक्षले विल्कुलै झुट बालेको पनि बताए । आफूले मदन भण्डारीलाई मरनोपरान्त दिएको मेडल छोरी उषाकिरणले लिएको भएपनि त्यसमा भ्रममा छर्ने प्रयास गरिएकोमा उनले आपत्ति जनाए । उनले आफू नेतृत्वको सरकारले नियुक्त गरेका राम्रा राजदूतहरुलाई फिर्ता बोलाउने काम सरकारले गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।