शुक्रबार, बैशाख ०७, २०८१

प्रतिनिधिसभाबाट विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभामा दुई विधेयक पारित भएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए । एमालेका सांसदहरुको नाराबाजीका बावजुद सभामुख अग्नि सापकोटाले भने संसद्को कार्वाही अगाडि बढाएका थिए ।

माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय कार्यान्वयन नगरेर पार्टी विभाजनमा भूमिका खेलेको भन्दै सभामुख सापकोटाको भूमिकालाई लिएर एमालेले भदौ २३ गतेदेखि संसदमा नाराबाज गरिरहेको छ ।

यसअघि असोज ४ गते बसेको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको थियो । प्रतिनिधिसभाको अर्का बैठक असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।