बिहिबार, बैशाख ०६, २०८१

माओवादीले वडादेखि केन्द्रसम्म निर्वाचनबाट नेतृत्व चयन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचनबाट वडादेखि केन्द्रसम्मको नेतृत्व चयन गर्ने भएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न लागेको माओवादीले वडा, प्रदेश, संघीय निर्वाचन क्षेत्र, जिल्ला, र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो ।

केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनका अनुसार वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन हुने छन् । पुनका अनुसार राष्ट्रिय सम्मेलनअघि नै तल्ला कमिटीको सम्मेलन सकिनेछ र नयाँ नेतृत्व चयन हुनेछ । माओवादीको निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ ।

सोमबार केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता पुनले सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने बताउँदै त्यसैअनुसार तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिएका छन् । बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए।

बैठकमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रेदश निर्वाचन समितिका पाँच–पाँच जना सहभागी रहेको नेता पुनले जानकारी दिए । प्रदेश निर्वाचन आयोगले छिट्टै नगर तथा गाउँ र वडा निर्वाचन समिति गठन गरी निर्वाचन केन्द्रित काम अघि बढाउने पनि उनले जानकारी दिएका छन् ।