ओलीको रिट हेर्दाहेर्दैमा, मंगलबार पनि बहस हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका दुई प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित दायर गरेको रिट ‘हेर्दा हेर्दै’ मा राखिएको छ ।

सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको थियो । निवेदक पक्षका कानुन व्यवसायी, सरकारी वकिल, नेपाल पक्षका कानुन व्यवसायीले बहस गरेका भएपनि निवेदक एमाले अध्यक्ष ओलीको जवाफ बाँकी रहेपछि मुद्दा मंगलबारका लागि हेर्दा हेर्दैमा राखिएको हो ।

बहसका क्रममा निवेदक पक्षका कानुन व्यवसायीहरुले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता गैरकानुनी रहेको जिकिर गरेका थिए। रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता महेश नेपाल, विजयकान्त मैनाली, पूर्वमहान्यायाधिवक्ता रमेश बडालसहित बाबुराम दाहाल, श्रीकान्त बराल, भोजराज आचार्यलगायतले बहस गरेका थिए ।

त्यस्तै विपक्षबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, हरिहर दाहाल, रमनकुमार श्रेष्ठ, गोविन्द बन्दी लगायतले बहस गरेका छन् । माधव नेपालसहित १४ जना विरुद्धको मुद्दाको कुनै औचित्य नभएको विपक्षी तर्फका कानुन व्यवसायीको जिकिर थियो । रमन श्रेष्ठलगायतले बहस गर्न बाँकी रहेकाले मुद्दा हेर्दा हेर्दैमा राखिएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: