शुक्रबार, चैत १६, २०८०

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

काठमाडौं । सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ संसदबाट बहुमतले पारित भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को चर्को विरोधकाबीच बहुमतले पारित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको घोषणा गरेका थिए । त्यसैगरी बैठकले अर्थ मन्त्री शर्माले प्रस्तुत गरेको आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई पनि स्वीकृत गरेको छ ।

प्रतिपक्षी दल एमालेले भने संसदको अवरोध कायम नै राखेको छ । सभामुख सापकोटाले एमालेप्रति भेदभावपूर्ण व्यवहार गरेको भन्दै एमालेले निरन्तर संसदमा विरोध गर्दै आएको छ ।

सोमबारको बैठकमा पनि एमाले सांसदहरुले वेल घेर्दै संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, यथास्थितिमा संसद चल्न सक्दैन लगायतको नाराबाजी गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक असोज ७ गते बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।