बिहिबार, बैशाख ०६, २०८१

संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न इमान्दाताको खाँचो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न इमान्दार प्रयासको खाँचो रहेको बताएका छन्। सातौं संविधान दिवसको शुभकामना दिंदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने उनको भनाइ छ। शुभकामना वक्तव्यमा भनिएको छ, ‘प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि हो।’

उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानपूर्ण आन्दोलनको उपलब्धिका रूपमा संविधान सभाबाट संघीय लोकतन्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको बताए। वक्तव्यमा भनिएको छ, ‘संविधान जारीपछि मुलुकको राज्य संरचना र शासन सत्ता लगायतमा ठूलो परिवर्तन तथा सुधार भएको छ तर, अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधानको विरुद्ध लागिरहेको हामी सवैले अनुभुति गरिरहेका छौं। पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको हो।’

उनले सर्वोच्च अदालतको फैसलाबाट संविधान र लोकतन्त्रको रक्षा भएको भन्दै यस अवसरमा उच्च सम्मान सहित स्मरण गर्नैपर्ने बताए।