बिहिबार, बैशाख ०६, २०८१

रिमोट कन्ट्रोल जडित मसिन गनबाट इरानका परमाणु वैज्ञानिकको हत्या

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सको एउटा समाचारले इरानका परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्यामा इजरेली खुफिया निकायको हात रहेको दाबी गरेको छ ।

उक्त अखबारले इजरायलको खुफिया निकाय मोसादको एउटा टोलीले रिमोट कन्ट्रोलबाट चल्ने मसिन गनको प्रयोग गरी नोभेम्बर २०२० मा फख्रिजादेहको हत्या गरिएको जनाइएको छ ।

उक्त मसिन गनले आफ्नो लक्ष्य पूरा गर्न एक मिनेट भन्दा कम समय लगाएको उल्लेख गरिएको छ । रिपोर्टका अनुसार बेल्जियममा बनेको एफएन एमएजी मसिन गनलाई एउटा अत्याधुनिक रोबोटिक यन्त्रसँग जोडिएको थियो ।

आर्टिफिशियल इन्टेलीजेन्स र उच्च क्षमताका क्यामेराहरू सहितको उक्त भूउपग्रहमार्फत सञ्चालन गर्न मिल्ने कम्प्युटर प्रविधि सहितको उक्त हतियारले एक मिनेटमा ६ सय राउन्ड गोली चलाउन सक्ने उक्त विवरणमा उल्लेख गरिएको छ ।

उक्त उपकरणको वजन करिब १ टनको भएको उल्लेख गरिएको छ । त्यसलाई सानो सानो टुक्रा बनाएर तस्करी गरी इरानसम्म पुर्याइएको र त्यहाँ नै जोडिएको विवरणमा उल्लेख छ । इरानका राष्ट्रपति हसन रुहानीले फखरीजादेहको हत्याको आरोप इजरायलमाथि लगाउँदै पारमाणविक कार्यक्रम धीमा नबनाइने गएको नोभेम्बरमा नै बताएका थिए ।

उनले सो हत्याको इरानले उपयुक्त समयमा बदला लिने चेतावनी समेत दिएका थिए । उनी इरानका ख्यातिप्राप्त परमाणु वैज्ञानिक हुनुका साथै इरानको इस्लामिक ’रिभोल्युशनरी गार्ड कोर’का एक वरिष्ठ अधिकारी थिए ।

पश्चिमा सुरक्षा स्रोतहरूले लामो समयदेखि उनलाई एकदमै शक्तिशाली र इरानको पारमाणविक कार्यक्रमका महत्वपूर्ण व्यक्ति भएको बताउँदै आएका थिए । उनलाई इरानको परमाणु कार्यक्रमका पिता मान्ने गरिन्थ्यो।

सन् २०१८ मा इजरेलले केही गोप्य दस्ताबेज हासिल गरेको र त्यसमा मोहसिनले इरानको परमाणु अस्त्र कार्यक्रमको सुरुवात गरेको पाइएको दाबी गरेको थियो ।

त्यसबेला इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले फख्रिजादेहलाई इरानको पारमाणविक कार्यक्रमका प्रमुख वैज्ञानिकका रूपमा चिनाएका थिए र यो नाम सम्झिराख्नुस् भनेर भनेका थिए ।

सन् २०१५ मा द न्यूयोर्क टाइम्स अखबारले मोहसिन फख्रिजादेहको तुलना जे रोबर्ट ओपनहाइमरसँग गरेको थियो । ओपनहाइमर ती वैज्ञानिक हुन् जसले दोस्रो विश्व युद्धको समयमा पहिलो परमाणु बम बनाएका थिए ।