मङ्गलबार, बैशाख ०४, २०८१

सरकारले अलंकार पदकहरुको नाकमा कालो पोत्योः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा सरकारले प्रदान गरेको विभूषणका विषयप्रति आक्रोशपूर्ण टिप्पणी गरेका छन् ।

संविधान दिवसका आवसरमा आइतबार च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारले आफ्नाका लागि पदक बाँडेको बताएका हुन् । शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने दिन सरकारले अलंकार पदकहरुको नाकमा कालो पोतेको टिप्पणीसमेत गरे ।

उनले भने, ‘जनताका पराक्रमी शक्तिले सम्मान पाउनुपर्ने तर बालाई सम्मान । श्रीमतीलाई सम्मान । गतवर्ष नि कसैको छोरालाई कसैको बहिनीलाई । कस्ता भोका जुका पुगेका छन् । आज बाउको, श्रीमतीको मुख हेर्ने दिन हो? कस्तो भोक, कस्तो आकांक्षा ? बाहिर निस्केर भाषण गर्दा मलाई कुनै पद चाहिएको छैन भन्ने तर हेर्नुस् त पारा । विभूषणले लज्जा जनाइरहेका छन् । बोल्न सक्ने भए उफ्रिन्थे ती ।तर बोल्न सक्दैनन् । लज्जाजनक स्थिति छ ।’ उनले मान पदवी राष्ट्रपतिबाट बितरण नगरी बनाएकै ठाउँबाट लैजान सुझाव दिए । त्यस्तै उनले आफ्नो लोकप्रिय सरकारको विरोध गर्ने र देशलाई भड्खालोमा हाल्न खोज्ने पत्रकार र तिनका मालिकलाई विभूषण दिएको आरोप लगाए ।

उनले भने, ‘लोकप्रिय सरकार थियो । त्यसको विरोध गर्ने र बेठिक समाचार दिएर देशलाई भड्खालोमा हाल्न खोज्नेहरुलाई विभूषण दिइयो । पत्रकारिता धर्मको निर्वाह गर्नेलाई सम्मान गरिदिएको भए हुन्थ्यो नि । झगडिया सम्मानित तथानाम बहस गर्नेहरु सम्मानित । दुई चार जना छुटेको जस्तो लाग्यो मलाई तिनलाई किन छुटाएको होला ? तराजुमा पट्टी बाँधेको हुन्छ । न्यायाधीशहरुले छाम्दा थाहा पाउनुपर्ने नि । हात त बाँधेको हुँदैन त ।’ उनले यसको इतिहासले यसको निर्मम मूल्यांकन गर्ने बताए । उनले प्रतिस्थापन विधेयक ल्याएर सरकारले दुई चार जना व्यापारी पोसेर अरुलाई मास्ने काम गरेको आरोप लगाए । उनले भने, ‘उद्योगीहरु सेटिङ भयो भनेर कराइरहेका छन् । प्रतिस्थापन विधेयक के का लागि भन्दा सेटिङका लागि रहेछ । दुई चार जनालाई सहयोग गर्ने अनि अरु सबैलाई मास्ने काम भएको छ ।’

उनले ७० दिनमा पनि सरकारले पूर्णता नपाएको र दुई महिनापछि बजेट होलिडे भएको भन्दै आपत्ति जनाए । उनले भने, ‘७० दिनमा सरकारले पूर्णता पाउँदैन । दुई महिनापछि बजेट होलिडे । बाबा ! बजेट विना सरकार चलेको छ । कस्तो आश्चर्यको कुरा हो ?’
उनले सरकारले आफ्ना कार्यकर्तालाई दशैं खर्च बापत दश हजार रुपैयाँ बाँड्न लागेको आरोप लगाए ।

उनले भने,‘पाँच अर्व रुपैयाँ दश दश हजार दिने रे यो दशैं खर्च होला नि । लाजशरम नभएपछि त के लाग्दो रहेछ ।’ सरकारले कोभिडका कारण व्यवसाय र रोजागरी गुमाएकालाई प्रतिपरिवार दश हजार रुपैयाँ दिने घोषणा गरेको थियो । उनले गरिबबाट कर असुली गरी क्यासिनोलाई छुट दिएको भन्दै आपत्ति जनाए ।

उनले भने,‘क्यासिनोवालालाई कर छुट दिएको छ । गरिवलाई कसेर कर लगाएको छ । यस्तो प्रेरणा कहाँबाट आयो ? अन्तर्राष्ट्रिय रुपमा नेपाललाई बदनाम गर्ने काम भयो । श्रोत देखाउनु नपर्ने लगानी गर्दा । यो गरिव किसानलाई भनेको हो ? आज कालोधनलाई सेता बनाउन खोजिदैछ भनेर बदनाम गरिँदैछ । यही हो समाजवाद जाने बाटो ? छिमेक सम्बन्धकाबारेमा के भन्छ सरकार ? सबतिर धुन्धुकारी बनेर काम गरिरहेको छ ।’