शुक्रबार, चैत १६, २०८०

मुख्यमन्त्री आचार्यद्धारा प्रदेश १ मा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, २ मन्त्री र ३ राज्यमन्त्री थपिए

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् ।

पाँच जना थपिएसँगै प्रदेश १ को मन्त्रीपरिषद् ८ सदस्यीय भएको छ । मुख्यमन्त्री आचार्यले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाएका छन् ।

उत्तमकुमार बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाएका छन् । मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले यसअघि बलबहादुर साम्सुहाङलाई सामाजिक विकास मन्त्री र लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएका थिए ।

नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्रीको पक्षमा सभामुखसहित ४१ जना सांसद छन् । विपक्षी गठबन्धनमा ५० जना सांसद छन् । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनका लागि असोज २२ गते प्रदेशसभाको ९ औं अधिवेशन आह्वानका लागि सिफारिस गरेका छन् ।