शुक्रबार, चैत १६, २०८०

प्रचण्ड राम्रो सम्धी, ससुरा, राम्रो ज्वाईँ भएपनि बेइमान नेता होः केपी ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनमा षड्यन्त्रकारीको मतियार बनेकोले सभामुखलाई मानिरहने अवस्था नरहेको बताएका छन् ।

झापाको विर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदमा एमालेले गरिरहेको आन्दोलन जायज काम भन्दै त्यो जारी रहने बताएका हुन् ।

उनले एमालेले कारबाही गरेका सांसदलाई राखेर संसद चलाएकोले आफूहरूले विरोध गर्नुपरेको बताए । उनले भने, ‘हाम्रो पार्टी फुटाउनको लागि चलिरहेको अधिवेशन बन्द गरियो, अधिवेशन बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम भयो । संसदको सबभन्दा ठूलो दल विभाजन गर्न सभामुख संलग्न भएको हुनाले उनलाई सभामुख मानिरहने अवस्था रहेन ।’

उनले आफूहरुले पार्टीबाट निकालेकाहरुलाई सांसदको रुपमा राखेपछि आफूहरूले सभामुखको भूमिकामा प्रश्न उठाएको बताए । उनले चुनाव सम्झेर अरू दल कामिरहेको टिप्पणी गरे । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेइमान नेता भएको आरोप लगाए ।

ओलीले  नेकपा विभाजन हुँदा प्रचण्ड गुटमात्रै गएको र नेकपा माओवादी केन्द्रका नेताहरु अहिले एमालेमै रहेको दाबी गरे । उनले भने, ‘उहाँ एउटा असल बाबु, काका, असल ससुरा हो । तर, धोकेबाज नेता हो । राम्रो सम्धी, ससुरा, राम्रो ज्वाईँ हो । राम्रो बा राम्रो काका, बेइमान नेता हो ।’

अध्यक्ष ओलीले माधवकुमार नेपालसँग राजनीति केही पनि नरहेको आरोप लगाए । उनले भने, ‘माधव नेपालको त राजनीति केही पनि छैन । न जादु, न टुना केही पनि छैन । कसैले भनेको भरमा पार्टी फुटाउन लाग्नु भएको छ । कम्रेड माधव नेपाल होइन । एमाले, जनविरोधी माधव नेपाल हो ।’