शुक्रबार, बैशाख ०७, २०८१

आईसीसी क्रिकेट विश्वकप लिंग-२ : अमेरिकामाथि नेपालको शानदार जित

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको छ ।
ओमान, नेपाल र अमेरिका सहभागि सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । यस्तै ओमान टुरमा लयमा रहेका रोहितले अर्धशतक प्रहार गरे । रोहितले अविजित ६२ रन जोडे । उनले यसअघि पपुवा न्यु गिनीविरुद्धको सिरिजको दोस्रो खेलमा ८६ रन बनाएका थिए । विनोद भण्डारीले ३७ रन योगदान गरे ।

अमेरिकाले दिएको मध्यम लक्ष्य पछ्याउने क्रममा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई गतिलो सुरुआत दिलाएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे । ओडीआईमा नेपालले ओपनिङमा सर्वाधिक साझेदारीको कीर्तिमान पनि बनायो । यसअघि २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

नेपालको पहिलो विकेटको रुपमा आसिफ शेख २३ रन बनाएर आउट भए । उनले ४२ बल खेल्दै २ चौका प्रहार गरे । आसिफलाई नास्थुस केन्जिगले निसर्ग पटेलबाट क्याचआउट गराए । त्यसपछि कुशल र कप्तान ज्ञानेन्द्रले नेपालको इनिङ्स अघि बढाए । तर स्कोर ९३ हुँदा ज्ञानेन्द्रले व्यक्तिगत १७ रन बनाएर आउट भए । १५ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रलाई निसर्ग पटेलले एलबीडब्लु धरापमा पारे ।

एक छेउबाट इनिङ्स सम्हालिरहेका कुशलले तेस्रो विकेटका लागि रोहित पौडेलसँग ५१ रनको अर्धशतकीय साझेदारी गरे । तर ३३औं ओभरको पहिलो बलमा कुशल निसर्ग पटेलको बलमा एलबीडब्लु भएपछि यो साझेदारी टुट्यो । ओडीआईमा पहिलो अर्धशतक बनाएका कुशलले ९३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ८४ रन जोडे ।

त्यसपछि पाँचौ नम्बरमा ब्याटिङ गर्न क्रिज पुगेका कुशल मल्ल १ रन मात्र बनाएर आउट भए । मल्ल ३४औं ओभरमा कप्तान सौरभ नेत्रभाल्करको बलमा मोनाक पटेलबाट क्याचआउट भए । कुशल मल्ल आउट हुँदा नेपालको स्कोर १४५(४ थियो ।

त्यसपछि रोहितले विकेटकिपर विनो भण्डारीसँग मिलेर नेपालको इनिङ्स अघि बढाए । यो जोडीले पाँचौ विकेटका लागि ८३ रनको साझेदारी गरे । नेपाललाई जितका लागि ३ रन आवश्यक हुँदा विनोद भण्डारी ३७ रन बनाएर ४९औं ओभरको दोस्रो बलमा आउट भए । भण्डारीले ४८ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।

४९औं ओभरको अन्तिम बलमा २ रन लिँदै नेपाललाई जित दिलाएका रोहितले ८७ बल खेल्दै २ चौका र ३ छक्का मद्ददतमा अविजित ६२ रन बनाए । करण केसी १ रनमा अविजित रहे ।

अमेरिकाका लागि निसर्ग पटेलले १० ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर २ विकेट लिए । नास्थुस केन्जिगले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए । यस्तै कप्तान नेत्रभाल्करले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर १ विकेट लिए ।

नेपालका लागि सन्दीप लामिछाने, सुशन भारी, विक्रम सोबले २-२ विकेट लिए । यस्तै कुशल मल्लले १ विकेट लिए । अमेरिकाका दुई खेलाडी रनआउट भएका थिए ।

सुशन भारीले १० ओभरमा ३१ रन मात्र खर्चेका थिए । सन्दीपले १० ओभरमा २ मेडन राख्दै ३५ रन खर्चिए । कुशल मल्लले पनि पूरै स्पेल बलिङ गर्दा १० ओभरमा ४५ रन खर्चिए ।

अमेरिकालाई हराएपछि नेपालले लिग २ मा तेस्रो खेल जित्दै ५ खेलबाट ६ अंक जोडेको छ । नेपालले सिरिजको दोस्रो खेलमा मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ ।

नेपाली टिम :

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,रोहित कुमार

मुख्य प्रशिक्षक – डेभ वाटमोर
व्यवस्थापक – मोहमद दाउद अन्सारी
टेक्निकल एनालिस्ट – रमण शिवाकोटी
फिजियो – बिक्रम न्यौपाने
ट्रेनर – राकेश गोहिल