शुक्रबार, बैशाख ०७, २०८१

पार्टी विभाजनले एमालेलाई ९ प्रतिशत मात्र असरः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित वृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताएका हुन् ।

उनले नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने दाबी गरे । महासचिव पोखरेलले नेकपा एमाले अब हिजो भन्दा अझै सबल भएर अगाडि बढ्ने बताए ।

महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा विभाजित भएको भन्दै केपी शर्मा ओलीले गरेको राजनीतिक ध्रुवमा आफूहरुले काम गर्ने बताए ।

उनले केपी ओली नेतृत्वको ध्रुवले आर्थिक विकास र समृद्धिको कुरा गरेको भन्दै राष्ट्रिय राजनीतिको अर्को ध्रुव्र गठबन्धनवालाहरुमा अवसरवादी र सिद्धान्तहीनहरु मात्र भएको आरोप लगाए । उनले पोखरेलले पार्टीको पक्षमा उभिएर काम गर्ने हरेकलाई समेटेर अघि बढ्नुपर्ने बताए ।