शुक्रबार, बैशाख ०७, २०८१

प्रतिपक्षीको होहल्लाकाबीच अर्थमन्त्रीद्वारा संसदमा आर्थिक अध्यादेश पेश

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन् । शुक्रबारको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण स्थगित भएकोमा दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपनि सभामुखले संसदको कारबाही अगाडि बढाएका हुन् । दोस्रो बैठकमा सभामुखले नेपाल मजदुर किसान पार्टीका  सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिए ।

उनले भने प्रतिपक्षको  नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताए । लगत्तै सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिए । नाराबाजी गरिरहेका एमाले सांसदहरुले अर्थमन्त्रीलाई छेक्न खोजेका थिए । तर दौडिएर रोष्टम पुगेर अर्थमन्त्रीले अध्यादेश पेश गरे । अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरे । त्यसपछि सभामुखले उक्त प्रस्ताव बैठकमा निर्णयार्थ पेस गरे । त्यसलगत्तै अध्यादेश बहुमतले स्वीकृत भएको सभामुखले घोषणा गरे ।  तर सुवालले आफूले प्रस्ताव फिर्ता नगरेको बताउँदै पेसै गर्न नपाएको गुनासो गरेका थिए ।