बिहिबार, बैशाख १३, २०८१

प्रचण्डसँगको भेटमा सुमारले भनिन् -हामीहरु एमसीसी पासका लागि दबाब दिन आएका होइनौं

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) को टोलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।

एमसीसीको टोलीले शुक्रबार बिहान माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेको हो । एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले खुमलटारस्थित प्रचण्ड निवास पुगेर भेट गरेको हो ।

उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ । प्रचण्डसँगको भेटमा सुमारले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउने प्रयास गरेकी थिइन् । त्यसक्रममा अध्यक्ष प्रचण्डले नेपालमा यो विषय विवादित भएकाले राष्ट्रिय सहमति गरेर मात्र यसलाई अगाडि बढाइने जवाफ दिएका छन् ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार प्रचण्डले एमसीसी राष्ट्रिय बहसको विषय बनेकाले राष्ट्रिय सहमति बनाएर यो परियोजना अघि बढाउनुपर्ने बताएका छन् । एमसीसीकी उपाध्यक्ष सुमारले आफूहरू आउँदा एमसीसी पासका लागि दबाब दिन आएको भन्ने अर्थमा बुझिएको भन्दै गुनासो गरेकी थिइन् ।

उनले आफूहरु यो विषयमा छलफल र अन्तरक्रिया गर्न आएको बताइन् । बिहीबार नेपाल आएको एमसीसीको टोलीले सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र त्यसपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेको थियो ।