शुक्रबार, बैशाख ०७, २०८१

नेपालको चारदिने भ्रमणका लागि एमसीसी की उपाध्यक्ष फतिमा सुमार काठमाडौंमा

काठमाडौं । नेपालको चारदिने भ्रमणका लागि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएकी छन् ।

उनी बिहिबार बिहान कतार हुँदै काठमाडौं आइपुगेकी हुन् । नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौं आएको स्रोतले जनाएको छ ।

नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला उनको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।

चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।
नेपालमा एमसिसी संसदमा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी हुन् । सुमारले आज नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्नेु भन्दै एमसिसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो । उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार बिहानैदेखि सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको छ ।

सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना नेपालमा राजनीतिक खिचातानीका कारण अझै अगाडि बढ्न सकेको छैन ।
सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोग प्राप्त हुनेछ ।