शुक्रबार, चैत १६, २०८०

जापानको नयाँ प्रधानमन्त्रीका लागि दौड सुरु, पूर्व प्रधानमन्त्री आबेको समर्थन ताकाईचीलाई

 

टोकियो । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले प्रधानमन्त्रीबाट बिदा हुने भन्ने आशय व्यक्त भएसंगै नयाँ प्रधानमन्त्रीको लागि दौड सुरु भएको छ ।

जापानका प्रशासनिक सुधार मन्त्री मन्त्री तारो कोनोको जनसमर्थन बढ़ेको छ ।  एक जनमत सर्वेक्षणको नतिजाले यस्तो देखाएको हो । प्रधानमन्त्री सुगाले राजिनामा दिने आशय व्यक्त गरेपछि प्रधानमन्त्रीको कार्यभार कसले सम्हाल्ला भन्ने अड्कलबाजी शुरु भइसकेको छ ।

क्योदो न्यूजले पनि शनिबार र आइतबार एक देशव्यापी सर्वेक्षण गरेको थियो । यस क्रममा कोनोको पक्षमा ३१ दशमलव ९ प्रतिशत मत खसेको छ ।

पूर्व रक्षामन्त्री शिगेरु इशिबाले २६ दशमलव ६ प्रतिशत समर्थन पाएका छन् भने पूर्व विदेशमन्त्री फुशियो खिशिदाको पक्षमा १८ दशमलव ८ प्रतिशत मत खसेको छ । यी तीन जना सत्तारुढ दल लिबरल डेमोक्रेटिक दल (एलडीपी)को सेप्टेम्बर २९ मा हुन लागेको अध्यक्ष पदको निर्वाचनका सम्भावित उमेदवारमध्ये पर्दछन् ।

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेले सत्तारुढ दल लिबरल डेमोक्रेटिक दल (एलडीपी)को आगामी अध्यक्षको रुपमा पूर्व आन्तरिक मामिला मन्त्री सानाई ताकाइचीलाई समर्थन गर्ने आशय व्यक्त गरेका छन ।

पार्टी अध्यक्षको चुनाव सेप्टेम्बर २९ मा हुँदैछ । ताकाइची दलभित्रको कुनै गूटमा रहेकी छैनन् । तर आबेको भने निकट छिन् । आबेको समर्थन पाएपछि अध्यक्ष पदमा आधिकारिक रुपमा उमेदवारी दिन आवश्यक २० समर्थक भने उनले जुटाउन सक्नेछिन् । अहिलेसम्म पार्टी अध्यक्ष पदका लागि ताकाइची र पूर्व विदेश मन्त्री फुमिओ किशिदाले उमेदवारी दिने घोषणा गरेका छन् ।

कोरोना भाइरसको संक्रमण विरुद्धको खोप अभियान मन्त्री तारो कोनोले पनि उमेदवारी दिने बताइएको छ ।

मन्त्री परिषद्का पूर्व मुख्य सचिव हिरोयुकी होसोदा नेतृत्वको गूटमा आबेको राम्रो प्रभाव छ । यो एलडीपीको सबैभन्दा ठूलो गूट पनि हो । एलडीपी अध्यक्षका रुपमा सुगाको कार्यकाल सेप्टेम्बर ३० मा सकिदैंछ ।

प्रतिनिधि सभामा एलडीपीको पकड छ । त्यसैले एलडीपी अध्यक्ष प्रधानमन्त्री हुने गर्दछ ।

एलडीपी अध्यक्ष पदको लागि हुने आगामी निर्वाचनमा पूर्व आन्तरिक मामिला मन्त्री सिको नोदा, पूर्व रक्षामन्त्री शिगेरु इशिबा र एलडीपीका नीति प्रमुख हाकुबुन शिमोमुराको नाम पनि अगाडि आएको छ ।

एलडीपीका ३८३ सांसद र सोही संख्याका पार्टीका साधारण सदस्यहरुले मतदानमा भाग लिनेछन् ।

७६६ मतमध्ये बहुमत हासिल गर्ने व्यक्ति पार्टी अध्यक्षमा निर्वाचित हुनेछन् ।