मङ्गलबार, बैशाख ११, २०८१

खेलाडी पलेशा सहित प्रशिक्षकलाई एनआरएनए जापान कान्तोद्धारा सम्मान

जापान । नेपालको तर्फबाट जापानको टोकियोमा पाराल्याम्पिक खेलमा सहभागी हुन आएका खेलाडी र प्रशिक्षकलाई एनआरएनए जापान कान्तो क्षेत्रीय समितिले सम्मान गरेको छ ।

पाराल्याम्पिकमा नेपालीको तर्फबाट के-४४ विधा अन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्न आएका खेलाडी पलेशा गोवर्द्धन रिपेचेज र प्रशिक्षक कविराज नेगी लामालाई शुक्रवार टोकियोमा एक कार्यक्रमको आयोजना गरि नगद सहित सम्मान गरिएको हो ।
नेपाली खेलाड़ीलाई अन्तराष्ट्रिय खेलका प्रतिस्पर्धामा प्रोत्साहन गर्ने र खेलप्रति चासो जागृत गराउनका लागि परदेशमा रहेका नेपालीहरुको तर्फबाट खेलाडी पलेशालाई नगद ३ लाख येन र प्रशिक्षक लामालाई १ लाख ५० हज़ार सहित सम्मान गरिएको एनआरएनए जापान कान्तोका अध्यक्ष दिपेश खत्रीले जानकारी गराए । साथै नेपाल पाराल्याम्पिक कमिटिलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा खेलाडी र प्रशिक्षकलाई गलकोट स्पोर्ट क्लबका अध्यक्ष लक्ष्मण कार्कीले ट्रयाकसुट सेट तो नगद ३० हजार येनले सम्मान गरेको कान्तो क्षेत्रीय समितिका सचिव सागर कार्कीले जानकारी दिए ।
त्यसै गरि कार्यक्रममा नेप्लिज तेक्वान्दो एसोसियसन जापानका अध्यक्ष सिद्धार्थ श्रेष्ठले खेलाडी पलेशालाई १ लाख येन, प्रशिक्षक बिष्टलाई ३० हजार येन र लामालाई ३० हजारसहित सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले खेलका माध्यमबाट राष्ट्रको पहिचान विश्वसामु परिचित गराउन सकिने भएकोले राज्यले यसतर्फ ध्यान पुर्याउनु पर्ने बताए । कार्यक्रममा रबिन शेरचन, मनिष मगर,कार्सन तामाङ, महेश खड्का, शिव खड्का लगायतले खेलाडी र खेल क्षेत्रमा लाग्ने हरुलाई यहि क्षेत्रमा टिकाइ राख्नका लागि राज्यले विशेष पहल लिनुपर्नेमा जोड दिए ।