बिहिबार, बैशाख ०६, २०८१

परमादेशबाट हटेपनि जनादेशको माध्यमबाट फेरि सरकारमा फर्कन्छौंः प्रवक्ता ज्ञवाली

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दावी गरेका छन् । पार्टीको ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता ज्ञवालीले तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हटनु परेपनि जनादेशको माध्यमबाट फेरि आफनो पार्टी सरकारमा फर्कने दावी गरेका हुन् ।

उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि नेता कार्यकर्तालाई आह्वान गरे । उनले भने, ‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुछ ।

अबको १५/१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनको लागि तयारी गर्नुछ । ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट फेरि सरकारमा फर्कने छौं।’

प्रवक्ता ज्ञवालीले भूमि सम्बन्धि आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रिपरिषदलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।