संवैधानिक इजलासका मुद्दा अघि नबढाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्नैपर्ने मागसहित परेको रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक इजलासमा भइरहेका सुनुवाइहरू अगाडि नबढाउन आदेश दिएको छ ।

बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको सहभागितासम्बन्धी रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक इजलासमा भइरहेका मुद्दाहरूको सुनुवाइ नगर्न आदेश दिएको हो ।

नैतिकताको प्रश्न उठेपछि संवैधानिक नियुक्तिविरुद्धका रिटहरूमाथिको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नबस्ने निर्णय भएको थियो । पेशी तोक्ने दिन र फैसलाको दिन प्रन्या जबरा अनुपस्थित रहने निर्णयभएपछि भोलिदेखि ती रिटहरूमाथि निरन्तर सुनुवाइ हुने अपेक्षा गरिएको थियो । सामान्यतया संवैधानिक इजलास शुक्रवार बस्ने गरेको छ ।

सर्वोच्च अदालतले बिहीबार जारी गरेको अन्तरिम आदेशले संवैधानिक आयोगहरूमा गरिएका नियुक्ति सम्बन्धी रिट निवेदनहरूको सुनुवाइ अनिश्चित समयका लागि स्थगित हुने भएको छ ।

यसअघि शुक्रबारका लागि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गठन हुने इजलासले ती मुद्दाको सुनुवाइ गर्ने तयारी थियो । तर, बुधबार अधिवक्ता गणेश रेग्मीले सर्वोच्च अदालतमा रिट दर्ता गराइ प्रधानन्यायाधीशलाई संविधानले नै संवैधानिक इजलासको नेतृत्वमा अनिवार्य गरेका कारण उनको अनुपस्थितिमा मुद्दाको सुनुवाइ गर्न नमिल्ने माग गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: