शुक्रबार, चैत १६, २०८०

मन्त्रिपरिषद विस्तार भदौ २३ पछि मात्रः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भदौं २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको बताएका छन् ।

बिहीबार सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भएपनि त्यसबारे छलफल नभएको बताए । अध्यक्ष नेपालले भदौ २२/२३ गतेसम्म त मन्त्रिपरिषद विस्तारका बारेमा कसैले चुइक्क पनि नबोल्ने बताए ।

उनले मन्त्रिपरिषद विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरुबीच छलफल हुने प्रतिक्रिया दिए । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिहरुलाई आह्वान गरे ।

केपी ओली र उनका मान्छेहरुले दश बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै नेपालले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन आग्रह गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकता नगर्ने पनि बताए ।

उनले भने, ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्न सफल हुने दावी गरे । यसैबीच, नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालले पनि बिहीबार नै सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।