शुक्रबार, चैत १६, २०८०

मनोनयन भएका क्याम्पसमा मात्र स्ववियु निर्वाचन हुने

काठमाडौं,१६ फागुन । विद्यार्थी संगठनको विवादका कारण उम्मेदवार मनोनयन हुन नसकेका क्याम्पसलाई छाडेर उम्मेदवार मनोनयन भएका क्याम्पसमा मात्र भए पनि स्ववियु चुनाव गर्ने भएको छ।
त्रिवि प्रशासनले सहमति जुटाउन विद्यार्थी संगठनलाई पटकपटक आग्रह गरे पनि सफल नभएपछि मनोनयन भएका क्याम्पसमा मात्र चुनाव गर्ने तयारी गरेको हो । विद्यार्थी संगठनको विवादका कारण शनिबारलाई तोकिएको उम्मेदवार मनोनयन कार्यतालिका प्रभावित भएको छ । ६० वटा आंगिक क्याम्पसमध्ये २२ वटामा उम्मेदवार मनोनय नभएको त्रिविले जनाएको छ । त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले भनिन्, ‘हामी विवाद मिलाउने प्रयासमा छौं । विवाद मिल्यो भने सबै क्याम्पसमा चुनाव हुन्छ । मिलेन भने जहाँजहाँ मनोनयन भएको छ त्यहाँ मात्र भए पनि चुनाव हुन्छ ।’
विद्यार्थीकै विवादका कारण फागुन १४ गतेलाई तोकिएको चुनाव १८ गतेलाई सारिएको थियो । तर पटकपटक मिति मात्र सार्दा नकारात्मक सन्देश जाने र त्रिविको पठनपाठनसमेत प्रभावित हुने भएकाले यसपटक जसरी पनि चुनाव गर्ने पक्षमा त्रिवि छ । ‘हामी त लागिरहेका छौं । तर विवाद हेर्दा विद्यार्थीले नै चुनाव नचाहेको जस्तो देखियो’, त्रिपाठीले भनिन्, ‘क्याम्पसहरूमा भएको आन्तरिक विवाद स्थानीय स्तरमै मिलाउन भनेका छौं । हेरौं के हुन्छ ।’
क्याम्पसअनुसार विवाद फरकफरक रहेका कारण पनि तत्काल सहमति जुटाउन कठिन भएको छ । एमाले निकट अनेरास्ववियु र नेविसंघबीचको विवादकै कारण आइतबार वाल्मीकि क्याम्पसमा तोडफोड भएको छ । नेविसंघले अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेको आरोप लगाएको छ भने अनेरास्ववियुले आगजनीमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ । दुई संगठनबीच विवाद हुँदा शनिबार रत्नराज्यलक्ष्मी क्याम्पसमा पनि आगजानी भएको थियो ।