शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनए अध्यक्षमा डा.बद्री केसीले उम्मेदवारी दिने घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले संघको आगामी अक्टोवर तेस्रो साता हुने १०औं विश्वसम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले गैरआवासीय नेपाली संघको अभियानमा १५ वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू सिनियर भएकाले अध्यक्षमा उम्मेदवारी दिने उनले बताए । डा. केसीले संस्थागत सुद्धिकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधी, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिए भएर काम गर्ने प्रतिबद्धता जनाए ।

२००३ देखि एनआरएन अभियानमा होमिएका डा. केसी २००७ सम्म आइसिसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि २००७ देखि ००९ सम्म आइसिसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गरे । २००९–२०११, २०११–२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहेका उनी २०१३ – २०१५ मा भने कोषाध्यक्ष चयन भए ।

त्यसपछि २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र २०१९ – २०२१ मा उपाध्यक्ष रहेका उनले अहिले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गरेका उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ । अक्टोवर २३ देखि २५ सम्म हुने अधिवेशनले संघको २ वर्षको लागि नयाँ नेतृत्वको चयन गर्नेछ ।
अध्यक्ष पदका लागि अमेरिकास्थित रविना थापा र बेलायतका कुल आचार्यलेसमेत उम्मेदवारी दिने घोषणा गरेका छन् । @newskarkhana