शनिबार, बैशाख ०८, २०८१

वागमती प्रदेशमा एमाले परित्याग गरी १२ सांसद माधव नेपालको पार्टीमा

वागमती । वागमती प्रदेशका १२ जना सांसदले नेकपा एमाले परित्याग गरी नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । नेकपा एमालेकातर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन् ।

सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र सामाजिक विकास मन्त्री कृष्ण खनालले नेकपा(एकीकृत समाजवादी) रोजेका हुन् । १२ जना सांसदले नयाँ दल रोजेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।