शनिबार, बैशाख ०८, २०८१

अमेरिकामा आदिवासी चलचित्र महोत्सव सम्पन्न : च्याब्रुङले जित्यो उत्कृष्ट अवार्ड

अमेरिका । चथरमा निर्माण गरिएको चलचित्र ‘के’ (च्याब्रुङ)ले अमेरिकामा आयोजित नेपाली आदिवासी चलचित्र महोत्सवमा उत्कृष्ट कथा अवार्ड जितेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले न्यूयोर्कमा आयोजना गरेको महोत्सवमा लिम्बू समुदायमा सांस्कृतिक जागरणको सन्देश दिने चलचित्र ‘के’ ले उत्कृष्ट कथा अवार्ड प्राप्त गरेको हो ।

चलचित्रले यसअघि यसअघि नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०७६ मा उत्कृष्ट चलचित्र अवार्ड, एफएलएफ अवार्ड–२०१९ मा उत्कृष्ट अवार्ड र थाइल्यान्ड जोमोगान अवार्ड–२०२० मा अफिसियल सेलेक्सन अवार्डसमेत प्राप्त गरिसकेको छ ।

सागर केरुङको निर्देशनमा बनेको चलचित्रमा अधिकांश पाँचथरका कलाकारले अभियन गरेका छन् । लिम्बू समुदायको सांस्कृतिक बाजा च्याब्रुङको निर्माण र प्रयोगका सम्बन्धमा रहेका जटिलतालाई प्रमुख विषय बनाई यो चलचित्र निर्माण गरिएको छ ।

न्यूयोर्कमा २१ र २२ अगष्टमा सम्पन्न महोत्सवमा नेवारी चलचित्र ‘जा मन गुभाजु’ले नेपाल आदिवासी चलचित्र अवार्ड ९निफ्फ० को उपाधि जितेको छ । उक्त चलचित्रले उपाधिसँगै उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार पनि प्राप्त गरेको छ । पुरस्कृत नेवारी चलचित्रले अवार्डसहित एक हजार एक सय ११ डलर नगद पुरस्कार पनि जितेको हो ।
विधाका अवार्डहरुमा उत्कृष्ट नायिकामा मगर भाषाको चलचित्र ‘ट्याङचालक’की नायिका तिला मगर, ह्योल्मो जातिको ‘मेटोक’ले उत्कृष्ट छायांकन र दर्शक रोजाइको पुरस्कार जितेका छन् ।
यस्तै तामाङ जातिको ‘प्रङ्ना’ चलचित्रलाई उत्कृष्ट भेषभुषा पुरस्कार र गुरुङ जातिको चलचित्र ‘मि होर्वै ट’ले उत्कृष्ट संगीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेका छन् ।
पुरस्कार विजेताहरुलाई नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महावाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

२७औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ फिप्ना अमेरिकाले आदिवासी जनजातिको भाषा, भेषभुष, संस्कृतिको संरक्षणमा पुर्याउन महोत्सव आयोजना गरेको महासंघका अध्यक्ष चेम्जोङले जानकारी दिए । महोत्सवमा सात जातिका चलचित्रहरु छनोटमा परेका थिए ।