शनिबार, बैशाख ०८, २०८१

पार्टी सभापतिबाट क्रियाशील सदस्यता मनलाग्दी वितरण भयोः प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । बिहीबार नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टीमा क्रियाशील सदस्यता मनलाग्दी वितरण गरेको र उनीहरुलाई समान व्यवहार नगरी तानाशाह बन्न खोजे त्यो सह्य नहुने चेतावनी दिएका हुन् ।

उनले सभापति देउवाले आफ्नो पक्षका क्रियाशील सदस्यलाई कुनै समयसीमामा नराख्ने र अरुलाई मात्रै नीति नियममा राख्ने किसिमको व्यवहार गर्न नमिल्ने बताए । उनले सभापति देउवाले जान्दाजान्दै पनि हरेक ४ वर्षमा गर्नुपर्ने महाधिवेशनलाई पदमा बस्नका लागि पार्टीको विधान मिचेको आरोप लगाए । नेता सिंहले क्रियाशील सदस्यता छानबिनमा पनि व्यापक धाँधली भएको बताए । उनले नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले पार्टीको महाधिवेशन निष्पक्ष हुनुपर्ने बताए ।