बुधबार, बैशाख १२, २०८१

सत्ता गठबन्धनले भन्यो-सभामुखविरुद्धका एमाले सांसदका अभिव्यक्ति लोकतान्त्रिक प्रणालीविरुद्ध हुन्

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नेकपा एमालेका सांसदहरूले धम्की दिएकोप्रति सत्तारुढ दलले आपत्ति जनाएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र माधव नेपाल पक्षले सोमबार विज्ञप्ति जारी गरी एमालेका केही सांसदले सभामुखलाई धम्क्याएको भन्दै आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै सङ्घीय संसद्को संरक्षक पनि हो र सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरू वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन् ।’

एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेकोमा आक्रोशित एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई संसद चलाउन मन छ कि छैन ? भन्दै आक्रोश व्यक्त गरेका थिए भने केही सांसदले सभामुखको कार्यकक्ष घेराउ गर्दै कारबाही गर्न दवाव दिएका थिए ।