शुक्रबार, बैशाख ०७, २०८१

दोमाङ पोखरीमा दर्शनार्थीहरुको घुईचो, स्थानिय सरकार तथा प्रशासन मौन

 सिन्धुपाल्चोक । धार्मिक तथा पर्यटकिय स्थल दोमाङ पोखरीमा विगतका वर्षहरुमा झै यस वर्ष पनि भदौ ६ गते भाद्र पुर्णिामाका दिन भाद्र पुर्णिामा मेला सम्पन्न भएको छ । विभिन्न गाउँ तथा ठाउँबाट विभिन्न उद्देश्य लिएर दर्शन गर्न आउने हजारौ दर्शनार्थी तथा झान्क्रीहरुको घुईचो नै लागेको थियो । 

परिचय 

सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालीका वडा ५ र ६ को सिमानामा अवस्थित दोमाङ पोखरी ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित छ । यो समुन्द्री सतह देखि २२५०  मिटर उचाईमा रहेको छ । घना जङ्गलको बिचमा रहेको यस पोखरिको वरिपरि महादेवको थान र गेगाङ थान रहेका छन् । थानमा चढाउन तथा पुजा गर्नको लागि हरेकले त्रिशूल बोकेर आउँदो रहेछन् । महादेवको थानमा खेतिपाती , पशु वृद्धि , धन आर्जन  तथा सन्तान प्राप्तिको लागि पुजा गर्न आउने गर्छन भने गेगङ थानमा सफल बैदेशिक यात्रा तथा मुद्दा मामिला  जित्नको लागि पुजा गर्न आउने चलन रहेको स्थानिय सिङ्ग बहादुर तामाङले बताउनुभयो । 

किम्बदन्तीहरु 
महादेव थानमा रहेको बास्साको मुर्ति उहिले गोल्छेको यार्सा गाउँको सुनार बाजेले दोलखाबाट ल्याएर महादेव थानमा स्थापित गरेको भन्ने किम्बदन्ती स्थानिय दुर्गालाल बिकले बताउनुभयो । त्यस्तै सात पुस्ता अगाडि नयाँ लामा बाजेले चाँदीको पैसामा किनेर राखेको लामा पुजारी ङडुप लामाले बताउनुभयो ।  त्यस मुर्तीलाई दुई तीन पटक चोरी गरि लाने कोसिस गरेको तर फेरि त्यही आइपुगेको रहेछ । एकपटक चोरी गरि लगेको तर गाडी मा हाल्ना साथ गाडी बिग्रेकोले लान नसकेको र हावा हुरि असिना परेकोले बाटोतिरै फालेर गएको र फेरि यथा स्थानमै लगेर राखिएको थियो । ३ वर्ष अगाडि पनि मुर्ति हराएको र सोही दिन ठूलो हावाहुरी सहित पानी परेकोले  त्यही ठाउँको बराम्ची मा ठूलो पहिरो गएको थियो । केही महिना पछि बराम्ची को जङ्गल मा बाख्रा चराउने गोठालोले भेटे पछि लामागुरु मार्फत पुजा गरि  प्रहरी को रोहबर मा यथा स्थानमा राखिएको र बराम्चिको पहिरो पनि रोकिएको भनी स्थानिय मिन बहादुर श्रेष्ठले बताउनुभयो । 

केही वर्ष अगाडि एकजना युवा पोखरीमा डुबेर हराए आमाले पोखरी वरिपरि गाईको दूध छर्काए पछि मात्र मृत शरीर पोखरी बाहिर आएको त्यस बेलाको प्रत्यक्षदर्शी तथा स्थानिय दुर्गा श्रेष्ठले सुनाउनुभयो ।  

शुद्ध मनले जे चितायो त्यही प्राप्त हुने भएकाले हरेक वर्ष हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेका छन् । यहाँ दर्शन गर्नका लागि जुगल गाउँपालिका विभिन्न ठाँउहरु सेलाङ, गोल्चे, सन्चागाउ, लिदि, गुम्बा, पाङ्खर्पु, पाङ्ताङ, कातिके, ढाडे, बराम्ची, हाप्रा, बिशिङ्खर, याङ्लाकोट, पेप्टा, तिनघरे देखिको झाक्री सहित दर्शनार्थीहरु आउने गरेको पाइन्छ । 

यस महत्त्वपूर्ण ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलमा भौतिक पुर्वाधारहरुको अभावले दर्शनार्थीले सास्ती खेप्नु परेको देखिन्छ । पोखरी  परिसरमा दर्शनार्थीलाई पानी परेको बेला ओत लाग्ने ठाँउ सम्म नहुनु, थानहरुमा पुजा गर्न जादा लाइन बस्ने ठाँउ नहुनु, फोहोर मैला  ब्यबस्थापन तथा पोखरीको संरक्षण समिती नहुनु, मेला व्यवस्थापन नहुनुले स्थानीय सरकार तथा प्रशासनको ध्यान नगएको प्रष्ट देखिन्छ ।  अहिले सम्म आफ्नै व्यक्तिगत खर्चले बाटो सफा गर्ने तथा थानहरु सफा गर्ने गरेको पुजारी माइला लामाले बताउनुभयो । 

आगामी दिनहरुमा दोमाङ पोखरी मेला व्यवस्थापन समिती तथा दोमाङ पोखरी संरक्षण समितीको गठन गरि स्वायम सेवकहरुको परिचालन गर्न सकेमा दोमाङ पोखरी मेला सभ्य तथा भव्य हुने देखिन्छ । यस्ता समितिहरु गठन गरि यश क्षेत्रको बिकासका लागि प्रदेश सरकार, केन्द्र सरकार तथा स्थानीय सरकार समक्ष बजेट प्रस्ताव गरि सिङ्गो सिन्धुपाल्चोक जिल्लाकै पर्यटन प्रबर्द्धनको लागि यश क्षेत्र को प्रचार प्रसार तथा भौतिक पुर्वाधारहरुको विकास गर्न सकिने देखिन्छ । 

लेखक रोशनी गोले  स्थानिय खोजकर्ता तथा पत्रकारिता अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।