शनिबार, बैशाख ०८, २०८१

माधव नेपालको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) प्रस्ताव

काठमाडौँ । नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल पक्षको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको छ । अर्को दलसंँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डे लगायतका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम नेकपा ( एकीकृत समाजवादी) प्रस्ताव गरेका हुन् ।

नेपाल पक्षले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पार्टीको नयाँ नामको निवदेन आइसकेको र पार्टी दर्ताको प्रक्रिया पुरा भएपछि यसबारेमा आयोगले अन्तिम निर्णय गर्ने जानकारी दिएका छन् ।

गत फागुन २३ गते तत्कालीन नेकपाको नामसम्बन्धि विवादमा अदालतले मिल्दोजुल्दो नाम राख्न नमिल्ने खालको फैसला गरेको थियो । अब उनीहरूको दलमा रहेका सदस्यहरूको सनाखतका लागि निर्वाचन आयोगले बोलाउने छ।