बिहिबार, चैत १५, २०८०

युवा संघका उपाध्यक्ष रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त

काठमाडौं । सरकारले रेल्वे कम्पनीको महाप्रबन्धकमा निरञ्जन झालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माधव नेपाल निकट युवा संघ नेपालका उपाध्यक्ष झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

झा सप्तरीको राजविराज नगरपालिका–१ निवासी हुन् । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले रेल्वे कम्पनीको महाप्रबन्धकमा गुरु भट्टराईलाई नियुक्ति दिएको थियो ।

देउवा नेतृत्वको सरकार बनेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । तर भट्टराईले स्पष्टीकरण नदिई राजीनामा दिएका थिए । एमाले फुटाएसँगै नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । बिहीबारकै मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । उनी पनि माधव नेपाल निकट नेता हुन् ।